ईश्वरको अर्को रुप नर्स : सेवामा तत्पर फरासिली अनुजा !

पब्लिक टुडे समाचारदाता
बर्दिबास, साउन ९ गते ।
अलि लामो समय अस्पताल बस्नु पर्ने बिरामी हउन् वा उनका कुरुवा..! अनुजा एक दिन बिदामा बसिन्भने खोजी गरिहाल्छन् । अनुजा अर्थात अञ्जु कार्की , जो शुभस्वस्तिक अस्पताल बर्दिवास–१४ (महोत्तरी) मा बिरामीको स्याहारमा तल्लिन रहन्छिन् ।

[custom-facebook-feed]

कष्ट, पीडाले मानिस अस्पताल पुगेका हुन्छन् । अस्पताल सुखः बाँड्ने ठाउँ होइन, दुःखी नै त्यहाँ पुग्छन् । दुःखी पनि किसिम किसिमका , कोही सुकिला..मुकिला…दुईचार जना अघिपछि लगाउने, कोहीभने झुत्रेझाम्रे । यद्यपी यि सबै अनुजाका सेवाग्राही हुन् । अनुजा मधुर वचनले सबैको नाडि छाम्छिन्..सबैको निधार सुम्सुम्याउँछिन् ।

बाह्य सुन्दरता जति देखिन्छ उनको, हृदय उत्तिकै उज्यालो । कष्टले आह..भरिरहेका कतिपय बिरामीमा त के जादु चल्छ कुन्नि ? उनको मधुर वचन र कोमल हातको आफ्नो नाडिमा स्पर्स पाउनासाथै ठिक हुँदै गएको भान पार्छन् ।

कैयौं अस्पतालमा “हजुर…सुनि दिनोस् न…!” भन्ने बिरामीको क्रन्दनको बेवास्था गर्दै च्याँठिएर ठन्ठन् अर्को्तिर मुख फर्काएर हिंड्ने नर्सका थुप्रै किस्सा बिरामी र उनीहरुका आफन्तले सुनाएका छन् , अनुजा त्यो पङ्तिकी होइनन् । “अनि, केही खानु भयो नि..!” भन्दै मन्दहास्य अनुहारबाट अनुजाको बोलीले बिरामी दङ्ग पर्छन् । सेवा नै मूल धर्म बनाएकी यि चेलीको थोरै बेरको सङ्गत पाउनेले पनि राहतकै अनुभब गर्छन् ।

“यहाँ कोइ साधु वा चोर हुँदैनन् , सबै बिरामी हुन्छन्,” निश्छल भावले अनुजा भन्छिन्, “हाम्रो एकमात्र ध्येय बिरामीको सेवा हो ।”

नर्स हुन् अस्पतालकी अनुजा । तर, उनको पनि त निजी जीवन छ । नर्सको औपचारिक पोसाकमा अस्पतालमा देखिने अनुजा हुन् कि अस्पतालको ड्युटी सकेर फर्केकी अनौपचारिक अनुजा हुन् , उनको मिजासमा खासै अन्तर पाइन्न । लाग्छ–, आफ्नो चम्किलो सौन्दर्यसँगै विनम्रता, सादगी र सेवामा हरदम तत्पर रहने गुण अनुजाले जन्मजात नै पाएकी हुन् ।

यि फरासिली र मिजासिली चेलीसँग एकैछिन कुरा हुँदा पनि म चैं खास मानिस भेटेको अनुभूति लिन्छु । तिमी उज्यालो नक्षत्र हौ अनुजा, तिमी हाम्रो भविष्य हौ । अनुजामा झन्झन् सेवा भाव झ्याङ्गिदै जाओस्..! उज्याली अनुजा…चम्किली अनुजा…!!